August 10th, 2026
डिजिटल युगमा सङ्घर्ष केवल ज्याला र सुविधाको मात्र होइन; यो धारणा, सूचना र विचारको पनि सङ्घर्ष हो। भविष्यको ट्रेड युनियन आन्दोलनले तथ्यमा आधारित सञ्चार, डिजिटल साक्षरता र वैचारिक स्पष्टतालाई सङ्गठन निर्माणसँग जोड्नैपर्छ। सडक र कार्यस्थलमा जत्तिकै डिजिटल संसारमा पनि प्रभावकारी उपस्थिति कायम गर्न सके मात्र श्रमिक आन्दोलनले बदलिँदो विश्वमा आफ्नो सान्दर्भिकता,प्रभावकारिता र नेतृत्वलाई दीर्घकालसम्म जोगाउन सक्छ।
विगतको पुनरावलोकन र मनन [The Reflection]
सन् १९९० को दशकको सुरुवात विश्व इतिहासमा एउटा ठूलो ‘मोड’ बन्यो। बर्लिनको पर्खाल भत्कियो, सोभियत सङ्घको विघटनसँगै शीतयुद्धको अन्त्य भयो र चीनमा नयाँ आर्थिक रूपान्तरण सुरु भयो। यी घटनाक्रमले निरङ्कुशता र फासीवादको अन्त्यपछि साम्यवाद र पूँजीवादको लामो लडाइँमा अन्ततः उदार बजार अर्थतन्त्र विजयी भएको भान पारिदियो।
यसबाट प्रभावित भएर डानियल बेल जस्ता चिन्तकले “महान् विचारधाराहरूको युग सकिँदैछ र अब राजनीति विचारले होइन, व्यवहारले निर्देशित हुनेछ” भन्दै ‘विचारधाराको अन्त्य’को अवधारणा अघि सारे। फ्रान्सिस फुकुयामाले “इतिहास आफ्नो अन्तिम गन्तव्यमा पुगिसक्यो र उदार लोकतन्त्र नै मानव शासनको अन्तिम स्वरूप हो” भनी घोषणा गरे।
त्यसबेला यो कथन ‘हो कि हो कि’ जस्तो लाग्थ्यो!
तर तीन दशकपछि आज हामी आफैंलाई सोध्न बाध्य छौँ— यदि विचारधाराको अन्त्य भएको हो भने असमानता, शोषण र अन्तरविरोधहरू किन अझै यथावत् छन्? किन लाखौँ मानिस समृद्धिका लागि मात्र होइन, मर्यादाका लागि पनि सङ्घर्ष गरिरहेका छन्?
कार्ल मार्क्सले धेरै अघि भन्नुभएको थियो— “इतिहास सुविधा र स्थिरतामा टुङ्गिँदैन, यो अन्तरविरोधहरूको गतिमा अघि बढ्छ।”
सत्य के हो भने, विचारधारा समाप्त भएको छैन; यसले केवल आफ्नो स्वरूप परिवर्तन गरेको छ। हिजो क्रान्तिको भाषामा बोलिने र वर्ग सङ्घर्षमा प्रस्ट देखिने विचार आज बजार, सञ्चारमाध्यम र आल्गोरिदमभित्र कथित “तटस्थ” प्रणालीको आवरणमा शान्त रूपले क्रियाशील छ।
काम गर्ने र लगाउनेबिचको जायज द्वन्द्व र सम्बन्ध, अर्थात् श्रम सम्बन्धको सन्दर्भमा पनि विभिन्न प्रयोगहरू भए। आजीवन रोजगारीको फर्मुलादेखि ‘सक्नेले गर्छ, नसक्ने मर्छ’ जस्ता निर्दयी विचारसम्मका उतारचढावहरू भोगिए। कल्याणकारी राज्यका सन्दर्भमा ‘फ्लेक्सिक्युरिटी’ (लचकतासहितको सुरक्षा) देखि ‘को–डिटरमिनेसन’ (सह-निर्धारण) सम्मका प्रयोगहरू भए।
हरेक सङ्क्रमणकालमा हामीले विचारको सिर्जनात्मक प्रयोग गर्यौँ।
दुनियाँभर जोगिने नाममा पार्टी र नाम फेर्ने लहर चलिरहँदा नेपालमा जननेता मदन भण्डारीको मार्गदर्शनमा हामीले—लोकतान्त्रिक प्रतिष्पर्धालाई अस्वीकार नगर्ने तर असमानतासँग सम्झौता पनि नगर्ने बाटो रोज्यौँ— जनताको बहुदलीय जनवाद (जबज)। यो एउटा यस्तो प्रणाली हो जहाँ लोकतन्त्र प्रक्रियामा मात्र सीमित नभई सार्थक बन्छ, दलीय प्रतिस्पर्धा जनताको सेवाका लागि हुन्छ र विचारधारा रूपान्तरणका लागि विकास हुन्छ।
विचारधारा विगतको अवशेष होइन, भविष्यको दिशानिर्देश गर्ने कम्पास हो। त्यही वैचारिक जगमा हामीले ट्रेड युनियन आन्दोलनलाई अन्तर्राष्ट्रिय ऐक्यबद्धतासहित अघि बढायौँ। २०४८ को श्रम कानुन तत्कालीन आवश्यकता थियो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुरूप २०७४ सालमा नयाँ श्रम कानुन निर्माण गर्यौँ। यसैको परिणामस्वरुप आज हामी द्वन्द्वबाट संवाद, सहमति र सहकार्य हुँदै सहअस्तित्व कायम गर्ने यात्रामा छौँ।
आजको सन्दर्भ र परिवेश [The Context]
अहिले हामी एआई, डिजिटल पूँजीवाद र विश्वव्यापी अनिश्चितताको नयाँ ‘टर्बुलेन्स’ (उतारचढाव) मा छौँ। पहिलो औद्योगिक क्रान्ति जस्तै यो समयले पनि उत्पादनको तरिका मात्र होइन, समग्र मानवीय सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्दैछ। हिजो कारखानाको साइरन र हाजिरी पुस्तिकाले श्रमिकको उपस्थिति जनाउँथ्यो भने आज मोबाइलको ‘नोटिफिकेसन’, डिजिटल प्लेटफर्म र आल्गोरिदमले काम, गति र मूल्याङ्कन निर्धारण गर्छन्।
राजनीतिक रूपमा पनि हामी ‘विचारहीन विचारका वाहक’— पपुलिस्ट (लोकप्रियतावादी) हरू चरम दक्षिणपन्थतर्फ वेगिएको अनिश्चित सुरुङमा छौँ। कसैका कुरा नसुनिने, अन्तरक्रिया र संवाद नहुँने, भेटघाट र प्रतिनिधित्व शून्य प्रायः बन्दै गएको अवस्था— यो आजको लोकतन्त्रको प्रतिछायाँ हो।
जर्मन दार्शनिक युर्गेन हाबर्मासले स्मरण गराए झैँ, लोकतन्त्रको जीवन्तता संस्था वा निर्वाचनमा मात्र निर्भरहुँदैन; सार्वजनिक संवादको गुणस्तर र “राम्रो तर्कको अवरोधरहित शक्ति” (the unforced force of the better argument) मा निर्भर हुन्छ। तर आज डिजिटल प्लेटफर्म र आल्गोरिदमले संवादलाई समझदारीभन्दा ध्यानाकर्षण (अटेन्सन) र सनसनी (भाइरालिटी) तर्फ धकेल्दै सार्वजनिक क्षेत्रलाई विवेकपूर्ण बहसको मञ्चबाट प्रचारको बजारमा परिणत गर्ने खतरा बढाएका छन्। आल्गोरिदमको युगमा लोकतन्त्रको रक्षा गर्नु भनेको नागरिकले स्वतन्त्र रूपमा तर्क र प्रश्न गर्न पाउने सार्वजनिक मञ्चहरू जोगाउनु हो।
बदलिँदो कार्यस्थलसँगै विश्वका ट्रेड युनियनहरूले आफूलाई औद्योगिक क्रान्ति ४.०, स्वचालन (अटोमेसन), गिग र रिमोट कार्य तथा डाटा-आल्गोरिदमद्वारा सञ्चालित समाज अनुकूल ढालिरहेका छन्। उनीहरूले अनौपचारिक श्रमको विस्तार, प्लेटफर्म श्रमिकको वृद्धि, युवाको घट्दो आकर्षण र धारणा (पर्सेप्सन) को राजनीतिलाई नयाँ चुनौतीका रूपमा स्वीकारेका छन्।
यसको सामना गर्न बेलायतको TUC ले डिजिटल क्षमता विकास, अमेरिकाको AFL-CIO ले डाटा-आधारित अभियान र युरोपेली युनियनहरूले डिजिटल माध्यमबाट सङ्घर्ष सुरु गरिसकेका छन्। चीन, जापान, दक्षिण कोरिया, सिङ्गापुर लगायतका देशले प्रविधिलाई सङ्गठन निर्माण र जनपरिचालनको साधन बनाएका छन्।
यस सन्दर्भमा विश्वव्यापी युनियनहरूमा ६ साझा प्रवृत्तिहरू देखिएका छन्:
ट्रेड युनियन महासङ्घहरूले अपनाएका विश्वव्यापी डिजिटल अभ्यास
| देश / क्षेत्र | ट्रेड युनियन महासङ्घ | मुख्य डिजिटल रणनीति तथा कार्यहरू |
| युरोप (समग्र) | ETUC | प्लेटफर्म श्रम र डिजिटल अधिकारको संरक्षण |
| इटाली | CGIL | डिजिटल अभियान र अनलाइन परिचालन |
| बेलायत | TUC | डिजिटल हेल्थ चेक, तालिम ल्याबहरू र नवप्रवर्तन कार्यशालाहरू |
| अमेरिका | AFL-CIO | डाटा-आधारित अभियान र डिजिटल परिचालन |
| दक्षिण अफ्रिका | COSATU | सामाजिक आन्दोलनमा डिजिटल सक्रियता |
| चीन | ACFTU | डिजिटल सदस्य सेवा र अनलाइन श्रमिक सहायता |
| दक्षिण कोरिया | KCTU | डिजिटल आन्दोलन र युवा परिचालन |
| जापान | RENGO | डिजिटल सदस्य सेवा र सहमतिमूलक श्रम सम्बन्ध |
| सिङ्गापुर | NTUC | डिजिटल सीप विकास, सदस्य सेवा र जीवनपर्यन्त सिकाइ |
| विश्वव्यापी | UNI Global Union | सीमापार डिजिटल अभियान र प्लेटफर्म श्रमिक सङ्गठन |
कार्यदिशा [The Contents]
यदि हामी आज पनि पुरानै नियुक्ति पत्र, रासन कार्ड, पारम्परिक कार्यसमय (काम–आराम–मनोरञ्जन) मा मात्र अल्झिरह्यौँ भने आसन्न चुनौतीको सामना गर्न सक्दैनौँ। एआई युगको लडाइँ परम्परागत मानसिकताबाट सम्भव छैन। अब ट्रेड युनियनले डिजिटल अधिकार, डाटा सुरक्षा, आल्गोरिदमको पारदर्शिता र २४सै घण्टा अनलाइन रहनुपर्ने ‘गिग वर्कर’हरूको श्रम अधिकारबारे सोच्नैपर्छ। यो नयाँ लडाईँमा पनि ‘मानवीय पक्ष- पहिला’ हुनुपर्छ।
हाबर्मासले समाजलाई दुई भागमा बुझाएका छन्:
जब बजार र शक्ति अत्यधिक बलियो हुन्छन्, तिनले हाम्रो जीवन संसारमा हस्तक्षेप गरी सामाजिक सम्बन्धलाई बजारमा परिणत गर्छन् र मिडियाले विचारभन्दा सनसनी बेच्न थाल्छ। हाबर्मासले यसलाई ‘जीवन संसारको उपनिवेशीकरण’ (Colonization of the Lifeworld) भनेका छन्। सोशल मिडिया र आल्गोरिदमको यो युगले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्न बाध्य बनाएको छ: “के हामी वास्तवमै संवाद गरिरहेका छौँ, कि केवल आल्गोरिदमले बनाएको इको-चेम्बरमा बोलिरहेका छौँ?”
यस्ता भ्रमहरू चिर्न आधुनिक ट्रेड युनियनले “भौतिक सङ्गठन” र “डिजिटल सङ्गठन” लाई परस्पर पूरक माध्यमका रूपमा विकास गर्नुपर्छ। परम्परागत सङ्गठनको मूल्यलाई जोगाउँदै त्यसमा डिजिटल क्षमता थप्नुपर्छ। कार्यस्थलमा जस्तै सामाजिक सञ्जालमा पनि दरिलो उपस्थिति हुनुपर्छ। अबको आवश्यकता––नारासँगै तथ्य-तथ्याङ्कको प्रयोग, आन्दोलनसँगै अनुसन्धान र ठूला सभासँगै बलियो डिजिटल समुदाय निर्माण हो।
डिजिटल अभियानको नयाँ मोडेलमा पहिलेको बिधि: कार्यस्थल → बैठक → आन्दोलन बाट
सामाजिक सञ्जाल→ डिजिटल कथा→ डाटा विश्लेषण→ लक्षित परिचालन→ प्रत्यक्ष कार्यक्रम→ वार्ता हुनुपर्छ।
भविष्यको सफल ट्रेड युनियनले पाँच मुख्य क्षमताहरू संयोजन गर्न सक्नुपर्छ:
यसका लागि “डिजिटल युनियन ल्याब” (इनोभेसन हब) को अवधारणा अपरिहार्य छ, जसका मुख्य पाँच घटक हुनेछन्:
निष्कर्ष
डिजिटल युगमा सङ्घर्ष केवल ज्याला र सुविधाको मात्र होइन; यो धारणा, सूचना र विचारको पनि सङ्घर्ष हो। भविष्यको ट्रेड युनियन आन्दोलनले तथ्यमा आधारित सञ्चार, डिजिटल साक्षरता र वैचारिक स्पष्टतालाई सङ्गठन निर्माणसँग जोड्नैपर्छ। सडक र कार्यस्थलमा जत्तिकै डिजिटल संसारमा पनि प्रभावकारी उपस्थिति कायम गर्न सके मात्र श्रमिक आन्दोलनले बदलिँदो विश्वमा आफ्नो सान्दर्भिकता,प्रभावकारिता र नेतृत्वलाई दीर्घकालसम्म जोगाउन सक्छ।
जिफण्टको उच्चस्तरीय परिसंवाद (२१ असार २०८३, फर्पिङ)मा प्रस्तुत कार्यपत्र