November 16th, 2024
प्रविधि र प्रगतिको सन्दर्भमा, आजको औद्योगिक प्रगतिलाई चौथो संस्करणको औद्योगिक क्रान्ति या इण्डष्ट्रि ४.० पनि भन्ने गरिएको छ । औद्योगिक क्रान्तिको पहिलोदेखि चौथो संस्करणसम्म आइपुग्न हाम्रो विश्वले लामो तर रोचक यात्रा तय गरेको छ । हरेक चरणको विकासका आफ्नै अद्वितीय ढाँचा छन् । र, प्रत्येक चरणमा प्रविधिले फेरेको उत्पादन पद्दति तथा उत्पादन सम्बन्धलाई राजनीतिले कुशलतापूर्वक सम्हालेको छ । राजनीतिले मानव जातिलाई राजनीतिक पार्टीमार्फत् प्रतिकुलता र असमानताबाट जोगाउने अनेक उपाय निकालेको छ ।
१ प्रारम्भमा
आज हामी अलि पृथक प्रकृतिको कार्यक्रममा सहभागी भइरहेका छौं । एकातिर हामीसँग प्रविधिसँग जानकार युवा साथीहरुको सहभागिता छ, अर्कातिर मञ्चमा प्रविधिलाई पछ्याउँदै देश हाँक्ने क्षमता राख्ने नेताहरु हुनुहुन्छ । युवा साथीहरु भविष्य हुनुहुन्छ, भावी अन्वेषक तथा नेता पनि उहाँहरु हुनुहुन्छ, अनि राजनीतिक नेताहरु सुशासनको लागि आजका हर्ताकर्ता ।
यति महत्वपूर्ण मञ्चमा आज मलाई राजनीति र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको बारेमा केही बोल्नु छ ।
सुरुमै एउटा ‘डिस्क्लेमर’ राख्ने अनुमति चाहन्छु– म एआईको ज्ञाता होइन । धेरै मानिसहरु झैं म पनि यसप्रतिको जिज्ञासु मात्र हो । त्यसैले मैले आज यहाँ भन्ने कुरा विज्ञको रुपमा हैन, यसलाई राजनीतिमा संलग्न एउटा जिज्ञासुको अनुभूतिको रुपमा बुझिदिनु भयो भने न्याय हुने छ ।
यो कार्यक्रममा सहभागिताको निम्ता पाएपछि मैले आफूले बुझे भन्दा थप र आफैंले बुझ्न सकिने केही विषय छन् कि भन्ने थाहा पाउन ‘नेट सर्फिङ’ गरें । स्ट्याण्डफोर्ड युनिभर्सिटीका एकजना एआई वैज्ञानिकको व्याख्याले मेरो ध्यान अलि बढी अकर्षित ग¥यो ।
यी प्रश्नहरुको जवाफमा उनी भन्दै थिए– आजको दिनमा एआई हरेक मानिसका लागि एक प्रकारको “लत” (एडिक्सन) जस्तै हो । हामी औसत सय–डेढसय चिपको घेराबन्दीमा जीवन जीइरहेका छौं । जस्तो कि एउटा स्मार्टफोनमा रहेको १०÷१५ वटा चिप र त्यसले स्टोर गर्ने अर्बौं डेटा, अनि डेटा रिड गर्ने एआईले सिर्जना गर्ने अलगोरिदम र अलगोरिदम नियन्त्रित हाम्रा आनीबानी ।
अमेजोनको अलेक्सा होस् कि एप्पलको सिरी, हाम्रा आवाज चिन्ने यी ‘एआई’हरुले आज हामीलााई चौवीसै घण्टा निगरानीमा राखेका छन् । यसरी एआईले सबैतिर साम्राज्य फैलाएको छ, र हामी त्यसको उपनिवेशमा आ–आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छौं ।
यसै पनि आजको विश्व व्यापक मात्रामा प्रविधि–निर्देशित छ । एआई हाम्रो सन्दर्भमा सबैभन्दा शक्तिशाली साधन (टुल्स) बन्दैछ । यसले उद्योग–व्यवसाय, अर्थतन्त्र, र यहाँसम्म कि हाम्रो दैनिक जीवनचर्या समेत रुपान्तरण गरिरहेको छ ।
यसबाट सम्भवतः सबैभन्दा महत्वपूर्ण परिवर्तन राजनीतिक क्षेत्रमा भइरहेको छ । राजनीति र एआईको सम्मिलनले अभूतपूर्व अवसर र महत्वपूर्ण चुनौति दुवै सिर्जना गरिरहेको छ । यसले खडा गरेका केही जटिल प्रश्नहरुका हामीले समाधान खोज्नु आवश्यक छः
मैले यी प्रश्नहरु यहाँ बौद्धिक बहसका लागि हैन, हामी सबैको गम्भीर ध्यानाकर्षणको लागि उठाएको हुँ । ‘टेक–साभी’ युवापंक्ति रहेको यस हलमा म थप अर्को विषय पनि उल्लेख गर्ने अनुमति चहन्छु– राजनीति आजभोलि कसैकसैले चर्चा गरेजस्तो ‘कुर्सी प्राप्तिको साधन” हैन, यो मानव समाजको सही व्यवस्थापनको माध्यम हो । स्मरण गरौं त, कसरी समाजले प्रविधिको प्रगति गरेको छ र प्रविधिसँगको सामञ्जस्यमा राजनीतिले कसरी समाजको आमूल परिवर्तन गर्दै आएको छ?
प्रविधि र प्रगतिको सन्दर्भमा, आजको औद्योगिक प्रगतिलाई चौथो संस्करणको औद्योगिक क्रान्ति या इण्डष्ट्रि ४.० पनि भन्ने गरिएको छ । औद्योगिक क्रान्तिको पहिलोदेखि चौथो संस्करणसम्म आइपुग्न हाम्रो विश्वले लामो तर रोचक यात्रा तय गरेको छ । हरेक चरणको विकासका आफ्नै अद्वितीय ढाँचा छन् । र, प्रत्येक चरणमा प्रविधिले फेरेको उत्पादन पद्दति तथा उत्पादन सम्बन्धलाई राजनीतिले कुशलतापूर्वक सम्हालेको छ । राजनीतिले मानव जातिलाई राजनीतिक पार्टीमार्फत् प्रतिकुलता र असमानताबाट जोगाउने अनेक उपाय निकालेको छ ।
इण्डष्ट्रि ४.० को यो चरणमा औद्योगिक प्रक्रियामा व्यापक मात्रामा अत्याधुनिक कम्प्युटर, रोबोट र सञ्चार प्रविधिको प्रयोग भइरहेको छ । इण्डष्ट्रि ४.० रोबोटबाट सञ्चालित अटोमेटेड प्रक्रिया र आइओटी (इन्टरनेट अफ थिङ्स) भनेर चिनिने नेटवर्क डिभाइसमा इन्टरकनेक्टेड छ, जसले डेटा सेयरिङ र डेटा अनलाइज गर्छ । विज्ञहरु भन्छन्, अझै आंकलन गरि नसकिएको इण्डष्ट्री ५.० तिर हामी लम्किरहेका छौं । उनीहरुको अपेक्षामा इण्डष्ट्रि ५.० ले मानिसको क्षमतालाई एडभान्स टेक्नोलोजी र कम्प्युटिङ क्यापाविलिटीसँग लय मिलाउने छ । अनि, ‘ह्युमन र रोबोट’ बीच उपयुक्त सन्तुलन कायम गरी मानिसको सिर्जनात्मक क्षमता र चतुरतालाई ‘स्मार्ट, प्रिसाइज र एक्युरेट मशिनरी पावर’सँग ब्लेण्ड गर्नेछ ।
इण्डष्ट्रि १.० मेकानिकल प्रडक्सनको युग (स्टिम आधारित मशिन) । स्टिम इञ्जिन र टेक्स्टाइल मशिनद्वारा म्यानुअल लेवोरलाई म्याकनाइज गरियो । म्यानुफ्याक्चरिङ उद्योगमा क्रान्तिकारी परिवर्तन गरी फ्याक्ट्रीको विकास गरियो । इण्डष्ट्रि २.० मास प्रडक्सनको युग (इलेक्ट्रिकल ऊर्जा आधारित मास प्रडक्सन) । औद्योगिक सामग्री र विशेषगरी अटोमोवाइल क्षेत्रमा एसेम्ब्ली लाइन र विजुलीको प्रयोगद्वारा तीब्र औद्योगिक बृद्धि भयो। इण्डष्ट्रि ३.० डिजिटल युग (कम्प्युटर र इन्टरनेट आधारित नलेज) । डिजिटल रेभोलुशन भनेर पनि चिनिने औद्योगिक क्रान्तिको यस चरणमा भएको कम्प्युटरको व्यापक प्रयोग र अटोमेशनका कारण निर्णय प्रक्रियामा डेटाको प्रयोग र इन्टरनेटको शीघ्र विकास हुनपुग्यो। इण्डष्ट्रि ४.० स्मार्ट फ्याक्ट्रीको युग (आर्टिफिसियल इन्टलिजेन्स इन्फरमेशन टेक्नोलोजी) । म्यानुफ्याक्चरिङ उद्योगमा डिजिटल प्रबिधिहरु जस्तै आइ एल ओ टी, ए आई, एम एल र विग डेटाको सम्मिलनले नयाँ प्रणालीको विकास भयो । जसले मशिन स्वयंले डेटाको विश्लेषण गर्ने, प्रसारण गर्ने र अटोनोमस डिसिजन गर्ने काम सुरु भयो । |
माथि चर्चा गरिसकिएको छ, इण्डष्ट्रि ४.० र इण्डष्ट्रि ५.० बीचको संक्रमणकालीन यस समयमा एआई सबैभन्दा बलशाली टुल्सको रुपमा अघि आएको छ । तसर्थ, आजको छलफलमा राजनीतिमा एआईको भूमिकाको मूल तीन क्षेत्रमा संक्षिप्त चर्चा गर्ने अनुमति चाहन्छु– पहिलो, राजनीतिक निर्णय प्रक्रियामा एआईको प्रभाव । दोस्रो, यसको संलग्नताबाट सिर्जित चुनौतीहरु । र तेस्रो, समावेशी तथा कुशल राजनीतिक प्रणाली निर्माणमा यसबाट प्राप्त हुने अवसर ।
२ राजनीतिक निर्णय प्रक्रियामा एआईको प्रभाव
धेरैले महसुस गर्नु अघि नै राजनीतिमा एआईको भूमिका महत्वपूर्ण भइसकेको छ । इलेक्सन क्याम्पेनदेखि सार्वजनिक प्रशासनसम्म एआई डेटा अनालाइसिस, निर्णय प्रक्रिया र मतदातालाई समाहित गर्न अत्यावश्यक ‘टुल्स’ भइसकेको छ ।
२.१ निर्वाचन क्याम्पेनमा एआई
एआईले निर्वाचन अभियानलाई रोमाञ्चित बनाएको छ । एआईले ‘लार्ज डेटा–सेट’को विश्लेषण गरी आम जनमत र मतदाताको प्रबृत्ति र व्यवहार पहिचान गर्छ ।
पोलिङ तथा सेन्मिेन्टको विश्लेषणः एआई अलगोरिदमले ‘सोसल मिडिया पोष्ट र अनलाइन कमेन्ट्स’ को विश्लेषण गरी उम्मेदवार र नीतिका सन्दर्भमा पव्लिक सेन्टिमेन्ट मापनमा मद्दत गर्छ ।
भोटर प्रोफाइलिङः मशिन लर्निङ मोडलले डेमोग्राफिक्स, विगतको मतदानको ट्रेण्ड र अनलाईन गतिविधिको आधारमा मतदाताको आकलन गर्छ ।
एआई टुल्सले एक एक गरी खास डेमोग्राफिक लक्षित क्याम्पेन स्ट्राटेजी मेसेज प्रभावकारी ढङ्गबाट सम्प्रेषित गर्छ । क्याम्ब्रिज अनालिटिका जस्ता एआई प्लेटफर्मले (जुन ट्रम्पको चुनावी प्रचारमा वदनाम पनि भयो) मतदाताको डेटा विश्लेषणको आधारमा लक्षित एड क्याम्पेन (माइक्रो टार्गेटिङ एड) सम्प्रेषित गर्न सक्छ ।
चुनावको समय मतदाताको स्वभाव, चासो, प्राथमिकता र डेमोग्राफिक जानकारी सम्बन्धि तथ्याङ्क ठूलो मात्रामा संकलन गरि एआई टुल्समार्फत् त्यसको विश्लेषण गर्ने र राजनीतिक सन्देश एवम प्रोपागण्डा मटेरियल्स तयार गर्न सकिन्छ । एआईले कुन समयमा, कस्ता मतदाता बीच, कस्तो प्रकारको सन्देश दिने भन्ने जस्ता प्रभावकारी अभियान (अप्टिमाइजिङ आउटरिच) सञ्चालन गर्न सक्छ ।
मतदातालाई च्याटवोटमा जोडी जिज्ञासको जवाफ दिने र इमेल अटोमेशन मार्फत् तोकिएका मतदातालाई छुट्टाछुट्टै इमेल समेत पठाउन सकिन्छ ।
एआई टुल्सको प्रयोगले अहिले ‘आक्चुअल’ भन्दा ‘भर्चुअल’ प्रचार प्रभावकारी हुन पुगेको छ । विभिन्न सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको माध्यमबाट पार्टी वा उम्मेदवारहरुले भन्न चाहेको कुरा सेकेण्ड भरमैं हात÷हातमा पुग्ने गरेको छ । भौतिक रुपमा भेट्न नसकेको मतदातासँग उम्मेदवारहरुका सन्देश यसैको माध्यमबाट सहजै पुग्छ । मतदाताको ‘मुड’ समेत पत्ता लगाई सम्भावित नतिजा समेत बताउन सकिने हुँदा कतिपय अनिर्णित तथा अस्थिर मतदातालाई आफूतिर आकर्षित गर्न सकिन्छ ।
यस सन्र्दमा केही उदाहरण चर्चित छन्ः सन् २०१२ को अमेरिकी राष्ट्रपति निर्वाचनमा बाराक ओवामाको अभियानमा मतदाताको क्लस्टर पहिचान गर्न र उनीहरु प्रत्येकलाई एक÷एक गरी अपिल गर्ने मेसेज पठाउन एआई र डेटा अनालिटिक्स एकदमै प्रभावकारी भएको थियो । खासगरी सामाजिक सञ्जालको प्रयोग मार्फत् अनपेक्षित निर्वाचन परिणाम त भारत, नेपाल लगायतका देशहरुमा पनि भएका छन् ।
२.२ शासन÷प्रशासनमा एआई
सरकारी संयन्त्रभित्र एआईको प्रयोग बढी रहेको छ । कतिपय देशहरुबीच एआई–पावर्ड स्मार्ट सिटी निर्माणमा प्रतिस्पर्धा नै चलिरहेको छ । यस्ता सहरहरु, जहाँ एआइको अलगोरिदम प्रयोग गरी सार्वजनिक यातायात र स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गरिएको छ । ‘प्रिडिक्टिभ एआई मोडल’को प्रयोगबाट प्राकृतिक विपत्ति र हेल्थ इमरजेन्सीको संकट समाधान गर्न थालिएको छ ।
एआईले सरकारलाई बढी प्रभावकारी, थप पारदर्शी र उत्तरदायी बनाउन पनि मद्दत पु¥याउन सक्छ । एआईले प्रस्तावित नीतिको प्रभावका बारेमा ‘सिमुलेशन’ गरी सम्भावित परिणमाको अग्रिम जानकारी गराउँदै विधायकहरुलाई नीति निर्माणमा सहयोग पु¥याउँछ । प्रिडिक्टिभ मोडलिङ मार्फत् भिन्नभिन्न नीति प्रभाव परिदृष्य प्रस्तुत गर्ने र ‘पलिसी अनालाइसिस टुल्स’मार्फत् ऐतिहासिक तथ्य विश्लेषण र केस स्टडी गरी बेष्ट प्राक्टिसको सिफारिस गर्न सक्छ ।
३ राजनीतमा एआईः चुनौतीहरु
भनिन्छ, ग्रेटर पावर कम्स विथ ग्रेट रेस्पोन्सीबिलिटी । राजनीतिक प्रणालीमा एआईको समिश्रणले हाम्रो समाजले थुप्रै नैतिक र सामाजिक चुनौतिको पनि सामना गर्नुपर्ने देखिन्छ ।
३.१ अलगोरिदम वायस
एआईको सबैभन्दा चुनौतिपूर्ण पक्ष भनेको अलगोरिदमले लिने पक्षधरता हो । एआई प्रणाली जस्तो डेटामा अभ्यस्त छ, त्यसैअनुसारको जानकारी दिन्छ । यदी डेटा खास जेण्डर वा रेस वा वर्ग वा क्षेत्र या आर्थिक–सामाजिक पक्षमा आधारित छ भने एआई अलगोरिदमले दिने जानकारी पनि त्यसै अनुरुपको हुन्छ । स्वभाव र सौखको प्याट्रनबाट एआई प्रणालीले सूचना छान्दा अन्य जानकारी नआउने, उही र उस्तै मात्र आउँछ । यसबाट परिणाम उल्टो पनि हुन सक्छ ।
एक हिसावले एआई अलगोरिदमले सूचनाको दायरा संकुचित पनि पारिदिन सक्छ । ‘बायस अलगोरिदम’बाट नीति निर्णय गलत, बजेट विन्यास गलत, विधिको प्रयोग गलत पनि हुन जान्छ । त्यसैले हामीले यस्तो मापदण्ड अपनाउनु पर्छ जसले एआई, नीति निर्माण प्रक्रियामा स्वच्छ र पारदर्शिता हुन सकोस् ।
३.२ आम जनमतमाथिको छलकपट
सोसल मिडियामा अलगोरिदममार्फत् प्रयोग हुने एआईको आम धारणालाई प्रभावित गर्न सक्ने गज्जबको क्षमता हुन्छ । यी अलगोरिदमले मानिसको विगतको स्वभाव, व्यवहार र रुचि आधारित कस्ता कन्टेन्ट खोज्ने भन्ने निर्धारण गर्छन् । र, ‘इको च्याम्बर’ मार्फत सम्बन्धित व्यक्तिले मन पराउने–मन पराउने जानकारी पस्केर ‘हो रैछ त’ जस्तो बनाउँदै उस्को धारणा अझ जब्बर बनाइदिन्छ । यसरी यसले मिथ्या सूचना (मिस इन्फरमेशन) फैलाउन समेत उत्प्रेरित गर्छ ।
अझ ‘डिपफेक’ प्रबिधिले एआई प्रयोग गरी सार्वजनिक व्यक्तिहरुको ‘हो जस्तै लाग्ने’ तर सरासर‘फेक’ भिडियो सिर्जना गरिदिन्छ । यसबाट राजनीतिक संस्थालाई होच्याउने र त्यसप्रति अनास्था सिर्जना गर्ने झुठ्ठा समाचार फैलाई मतदातालाई झुक्याउने काम समेत गर्छ ।
३.३ डेटाको गोपनीयता र सुरक्षा
एआई डेटामाथि निर्भर हुने हुँदा यसको गोपनीयता र सुरक्षामा धेरैको चासो छ । सरकार र सरकारी संरचनाहरुले एआईको प्रयोगबाट गरिने नागरिकको आनीबानीको अनुगमनबाट गोपनीयताको हक अलिकति मिचिन पनि सक्छ । डेटाको दुरुपयोग रोक्न बलियो डेटा सुरक्षा संयन्त्र जरुरी हुन्छ ।
यद्यपि एआईकै प्रयोगबाट पनि यस्ता खराबीमाथि नियन्त्रण गर्न सकिन्छः एआईले मिथ्या सूचना फैलाउने र अन्य सुरक्षा चुनौती दिने सोसल मिडिया र अन्य पलेटफर्मको अनुगमन गर्न सक्छ । एआई प्रणालीले झुठ्ठा सूचना फैलाउने अनलाइन प्लेटफर्मको अनुगमन गर्न सक्छ, कन्टेन्ट मोडरेटरको सहायतामा त्यसलाई चिन्हित गर्ने र डाउन समेत गर्न सक्छ । नेटवर्क ट्रयाफिकमा देखिने अस्वाभाविक प्याटर्न पहिचान गरी राजनीतिक पार्टी र निर्वाचन प्रणालीका विरुद्धको साइवर थ्रेट पत्ता लगाउन सक्छ।
४ भविष्यको लागि अवसर
एआई प्रयोगको चुनौति जति छ, आगामी दिनमा यसको प्रयोगबाट हुने लाभ पनि उत्तिकै छ । उचित ढङ्गले प्रयोग हुँदा एआईमार्फत् राजनीतिक प्रणालीलाई थप न्यायपूर्ण र प्रभावकारी बनाउन सकिन्छ।
४.१ नीति निर्माण सुदृढ गर्ने
लार्ज–डेटासेटको विश्लेषण गरी नीतिका विभिन्न बैकल्पिक परिणामको ‘सिनारियो फोरकास्ट’ गरी एआईले नीति निर्माताहरुलाई सम्भावित नतिजाबारे बढी जानकार बनाउँछ । उदाहरणको लागि कर नीतिका कारण अर्थतन्त्रमा पर्ने सकारात्मक÷नकारात्मक प्रभाव, या जलवायु परिवर्तनका सन्दर्भमा चालिएको कदमबाट वातावरणमा पर्न सक्ने सम्भावित असर जस्ता विषयमा एआईको प्रयोगबाट गरिने आकलनलाई लिउँ । शासनमा ‘डेटा–बेस्ड अप्रोच’ले नीति विश्लेषणलाई बढी यथार्थ आधारित बनाउन बल पु¥याउँछ ।
४.२ जनसहभागितामा सुधार
राजनीतिक प्रक्रियालाई बढी पहुँचयोग्य र पारदर्शी बनाई एआईले जनसहभागिता बृद्धिमा मद्दत पु¥याउँछ । उदाहरणको लागि एआई प्रयोग भएको च्याटवटले जनतालाई सरकारी सेवा तथा जटिल राजनीतिक विषयमा ‘रियल–टाइम’ अपडेट दिन्छ । एआई प्रयोग भएको प्लेटफर्म मार्फत् नीतिगत विषयमा प्रत्यक्ष र ‘रियल–टाइम’ जनसंलग्नता बढाउन सकिन्छ ।
४.३ भ्रष्टाचार विरुद्धको संघर्ष
भ्रष्टाचार विरुद्धको अभियानमा एआई प्रभावकारी टुल्स हुनसक्छ । सरकारी सेवालाई स्वचालित बनाएर पारदर्शिता बढाउँदै भ्रष्टाचारको लागि हुने ‘जालझेल’लाई एआई प्रणालीले नियन्त्रण गर्न मद्दत गर्छ । कतिपय देशहरुमा सार्वजनिक खरीद प्रक्रियामा हुने जाली काम र सार्वजनिक खर्चमा हुने ठगीका विरुद्ध अनुगमन गर्न एआई प्रणाली प्रभावकारी भएको छ । फेसलेस सेवा यसैको एउटा उदाहरण हो । कतिपय देशहरुमा कस्टुमर केयरको काम एआईद्वारा हुन थालेको पनि छ ।
केही उदाहरणः ब्राजिलमा सार्वजनिक खरीद प्रक्रियामा एआईको प्रयोग अग्रस्थानमा छ । त्यहाँको महालेखा नियन्त्रकको कार्यालयले स्थापना गरेको अलाइस (एआई टु कम्ब्याट करप्सन) नामक एआई प्रणालीले मशिन लर्निङ अलगोरिदमबाट सार्वजनिक खरीद प्रक्रियाको डेटा विश्लेषण गर्ने, अनियमितता पहिचान गर्ने र भ्रष्टाचारको केसलाई चिन्हित गर्ने काम गर्दछ ।
स्तोनिया अहिले संसारभरि उदाहरणीय डिजिटाइज्ड देश हो । यसले सार्वजनिक खर्चमा पारदर्शिता र सार्वजनिक प्रशासनको विभिन्न पक्षमा एआईलाई प्रयोग गरेको छ । त्यहाँको ई–गभ इन्फ्रास्ट्रक्चर रेड ट्यापिजम अन्त्य गर्न तथा भ्रष्टाचार रोक्न प्रभावकारी सावित भएको छ । चीनले भ्रष्टाचार रोक्न र सार्वजनिक खर्चमा पारदर्शिता कायम गर्न प्रयोग गरेको एआई आधारित चाइनिज सोसल क्रेडिट सिस्टम उल्लेखनीय छ । भारतमा कर छलीलाई पत्ता लगाउन एआई प्रयोग गरिएको जिएसटी नेटवर्क छ । दक्षिण कोरियाले सरकारी खर्च अनुगमनका लागि डिजिटल न्यू डिल इनिसियटिभ नामक एआई टुल्स प्रयोगमा ल्याएको छ ।
अन्त्यमा,
हामी तयार होऔं या नहोऔं, भविष्यको राजनीतिमा एआईको जवरजस्त प्रभाव रहने छ र त्यसको सुरुवात भई नै सकेको छ । कतिपय मुद्दा त यसैद्वारा निर्धारित समेत हुनसक्छ । यो नयाँ परिदृष्यतिर अघि बढ्दा हामीले राजनीतिमा एआईको प्रयोगबाट सिर्जना हुनसक्ने चुनौतिहरु– अलगोरिदम पक्षधरता, सम्भावित छलकपट, र डेटा प्राइभेसी जस्ता विषयलाई सम्बोधन गर्नुपर्छ । साथै, जनसहभागिता बढाउँदै नीति निर्माण गर्न प्राप्त अवसरको सदुपयोग गर्नुपर्छ । राजनीतिमा एआईको प्रयोगका लागि राजनीतिक नेतृत्व, टेक–इनोभेटर र आम नागरिक बीचको सहकार्यले एथिकल फ्रेमवर्क र नियमनकारी मापदण्ड निर्धारण गरी एआइका प्रयोगकर्तालाई जिम्मेवार बनाउने छ । यसो गरेर मात्र हामी सबैका लागि न्यायपूर्ण र कुशल राजनीतिक प्रणाली निर्माणमा एआईलाई पूराका पूरा सदुपयोग गर्न सक्छौं ।
(राष्ट्रिय युवा संघ, नेपालको ए–आई कन्फेरेन्समा प्रस्तुत की–नोट)
समाज र शासनको भविष्यलाई निर्देशित गर्दै राजनीतिमा ए–आई
१२ कात्तिक २०८१/ २८ अक्टोबर २०२४, हायात प्यालेस, काठमाडौं ।