May 25th, 2016
तथ्याङ्कले भन्छ– रोजगारदाताको हेलचक्र्याईका कारण विश्वमा प्रत्येक १५ सेकेण्डमा एक जना श्रमिकको मृत्यु हुन्छ । यसरी, हरेक बर्ष कामसंग जोडिएको दुर्घटनाबाट विश्वमा २३ लाखभन्दा बढी श्रमिक मर्छन्, प्रत्येक वर्ष ६ हजारभन्दा माथि ! व्यवसायजन्य क्यान्सरबाट प्रत्येक वर्ष ६ लाख ६० हजार श्रमिक मरिरहेका छन्, प्रत्येक मिनेटमा एक जना ! यस सन्दर्भमा हाम्रो श्रमको संसारको समाचार खासै उन्नत छैन । नियमित श्रम सम्बन्धमा रहेका हुन् वा आकस्मिक प्रकृतिको, सबैमा यथेष्ट परिवर्तन आवस्यक छ । हामीले लोकतन्त्रका लागि आन्दोलन गरयौं । ‘लोकतन्त्रका लागि आन्दोलन’ र ‘लोकतन्त्रमा आन्दोलन’ फरक कुरा हो । असोज तीन गते संविधान जारी भएसंगै हामीले अधिकार प्राप्तीको लडाईलाई एउटा टुङ्गोमा पुरयाएको छौं । त्यसैले अबको आन्दोलन, लोकतन्त्रमा हुने आन्दोलन हो र त्यो समृद्धिका लागि गरिने संघर्षको रुपमा अनुदित हुनुपर्छ ।
आजभोली मे एकलाई हामीहरु श्रमिक–उत्सवको रूपमा मनाउँछौं । उत्सव र उल्लासको यो पर्वमा हामी मे दिवससंग गाँसिएको संघर्षको स्मरण गर्छौं । हामी सबैलाई थाहै छ, यसको गौरव गाथा, विश्वमा सीमित संख्यामा रहेका हुने–खानेहरूले, विशाल संख्यामा रहेका हुँदा–खानेहरूमाथि थोपरेको अत्याचारको विरोधसँग जोडिएको छ । वर्षौंदेखि हामीले चर्चा गर्दै आएको ‘तीन आठ’ अर्थात् ८/८ घन्टामा विभाजित ‘काम, मनोरञ्जन र आराम’ को मागसँग यसको सम्बन्ध रहि आएको छ । श्रमजीवी वर्गको भावी पुस्ताको लागि ‘सम्मानित, समृद्ध र सिर्जनशील जीवन’को सपना देखेबापत आजभन्दा १३० वर्षअघि फाँसीमा चढ्ने सिकागोका श्रमिक नेताहरूको बलिदानी संघर्ष–गाथासँग यो दिवस जोडिएको छ । हाम्रो देशमा यो दिवसको नाता, लोकतन्त्र– समानता– र समृद्धिका लागि, कहिले एक शताब्दीभन्दा लामो जहानियाँ राणाशासन त कहिले निरंकुश राजतन्त्रले नेपाली जनतामाथि लादेको पञ्चायती व्यवस्था सहितका विभिन्न रूपको तानाशाही शासन विरुद्धको लडाईमा मनग्गे रगत बगाउने र अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण श्रमजीवी वर्गको बलिदानी संघर्षसँग जोडिएको छ ।
यी विषयहरूमा हामीले हरेक वर्ष चर्चा गर्ने गरेकै छौं । गत वर्षको मे दिवसमा भने हामीले विनाशकारी भुकम्पले देखाएको ताण्डव–लिलाबाट पीडित हुँदै आम नेपाली जनतामा समवेदना साटासाट गरयौं । हामीले भन्यौं– “यतिबेला विरक्ती, आक्रोस, र दिक्दारी पोख्ने वा एकअर्कालाई दोषारोपण गर्ने वेला हैन, पारस्परिक सद्भाव तथा धैर्यता सहित एक आपसमा सहयोग गर्ने समय हो भन्ने हामीले महसुस गर्नुपर्छ । भग्नावशेषमा उभिएर अब हामीले पीडापछिको नव निर्माणमा लाग्ने संकल्प गर्नुपर्छ ।”
यो वर्षको मे दिवसमा, सामान्य अवस्थाको मे दिवसमा जस्तो आठ घण्टा काम–आराम–र, मनोरञ्जनको चर्चाले मात्रै पुग्दैन । विगतका मे दिवसहरुमा हामीले भन्दै आएको “तीन–आठ” संगै अब हामीले नेपाली श्रमिक वर्गले “तीन राष्ट्रिय कार्यभार”मा केन्द्रीत हुनुपर्छ ।
हामी केन्द्रीत हुनुपर्ने ती तीन–कार्यभारहरु के के हुन् त?
पहिलो कार्यभार, गत बर्ष असोज तीन गते जारी गरिएको संविधानको कार्यान्वयन हो । संविधान कार्यान्वयनबाट संस्थागत गरिएका आजसम्मका आन्दोलनहरुबाट प्राप्त उपलव्धिको कार्यान्वयन प्रकृया आरम्भ हुन्छ । यस प्रकृयाबाट गा“स–वास–कपास विहिन जनतालाई एकचोटी सदाको लागि जमिन र आवासको अधिकार दिलाइने छ । कमैया–हलिया, हरुवा–चरुवा जस्ता प्रथा कै रुपमा प्रचलित सामाजिक शोषण बिरुद्ध विसौं शताव्दीको अन्त्यमा हामी आफैं समेत संलग्न भएको आन्दोलनले दिएको स्वतन्त्रता लाई संस्थागत गर्ने र त्यस आन्दोलनका उपलब्धिहरुलाई उपभोग गराइने छ ।
दोस्रो कार्यभार भनेको राष्ट्रिय पुनर्निर्माण हो । दिनमा हजारभन्दा माथि को संख्यामा हाम्रा युवाहरु वैदेशिक श्रममा वहिर्गमन भइरहेको आजको अवस्थामा भुकम्पपछिको पुनर्निर्माण चुनौतिपूर्ण हुन पुगेको छ । पुनर्निर्माण तथा नवनिर्माण प्रक्रियामा श्रमको अभाव हुन नदिन र भूकम्प प्रतिरोधी प्रविधियुक्त निर्माणमा ट्रेडयुनियन आन्दोलनको ध्यान केन्द्रीत हुन जरुरी छ ।
तेस्रो कार्यभार, आर्थिक समृद्धिको योजना कार्यान्वयन गर्नु हो ।
हामीले लोकतन्त्रका लागि आन्दोलन गरयौं । ‘लोकतन्त्रका लागि आन्दोलन’ र ‘लोकतन्त्रमा आन्दोलन’ फरक कुरा हो । असोज तीन गते संविधान जारी भएसंगै हामीले अधिकार प्राप्तीको लडाईलाई एउटा टुङ्गोमा पुरयाएको छौं । त्यसैले अबको आन्दोलन, लोकतन्त्रमा हुने आन्दोलन हो र त्यो समृद्धिका लागि गरिने संघर्षको रुपमा अनुदित हुनुपर्छ ।
तथ्याङ्कले भन्छ– रोजगारदाताको हेलचक्र्याईका कारण विश्वमा प्रत्येक १५ सेकेण्डमा एक जना श्रमिकको मृत्यु हुन्छ । यसरी, हरेक बर्ष कामसंग जोडिएको दुर्घटनाबाट विश्वमा २३ लाखभन्दा बढी श्रमिक मर्छन्, प्रत्येक वर्ष ६ हजारभन्दा माथि ! व्यवसायजन्य क्यान्सरबाट प्रत्येक वर्ष ६ लाख ६० हजार श्रमिक मरिरहेका छन्, प्रत्येक मिनेटमा एक जना ! यस सन्दर्भमा हाम्रो श्रमको संसारको समाचार खासै उन्नत छैन । नियमित श्रम सम्बन्धमा रहेका हुन् वा आकस्मिक प्रकृतिको, सबैमा यथेष्ट परिवर्तन आवस्यक छ ।
त्यसैले, हामीले रुपान्तरणको सपना देख्यौ, र यसको माध्यम श्रमशक्तिको विकास भन्यौं ।
एकजना अमेरिकी सामुदायिक संगठक तथा लेखक साउल अलिन्स्कीले भने झैं समाज मूलतः तीन भागमा विभाजित छ । हुने–खाने, हुँदा–खाने र थोरै भएका तर धेरै आस गर्ने ! सबैभन्दा माथि ‘हुने–खाने’ छन्– शक्ति, सम्पत्ति, संरक्षण र ऐस आराम सहित । उनीहरू अकुत सम्पत्तिबाट निस्सासिएका छन्, अर्कातिररहेका फेदमा ‘हुँदा–खाने’हरू भोकमरीको चपेटामा परिरहेका छन् ।
श्रमशक्तिको विकास गर्ने भन्नुको अर्थ ‘हुँदा–खाने’हरू लाई क्रमशः ‘हुने–खाने’को तहमा उकास्नु हो । संविधानको कार्यान्वयनलाई हामीले आजको दिनमा श्रमशक्तिको विकासको माध्यम ठानेका छौं । त्यसैले यस वर्षको मे दिवसको थेम– ‘रुपान्तरणः श्रमशक्तिको विकासबाट, श्रमशक्तिको विकास संविधानको कार्यान्यनबाट’ तय गरेका हौं ।
ट्रेड यूनियनको कोणबाट हेर्दा संविधानको कार्यान्वयन हुनु भनेको, मुलुक लोककल्याणकारी आर्थिक– सामाजिक व्यवस्थामा प्रवेश गर्नु हो । यसबाट हाम्रा श्रम कानून रोजगार मैत्री हुने, हाम्रा श्रम सम्बन्ध लोकतान्त्रिक हुने, उत्पादनका साधनमाथि श्रमिकको पहुँच स्थापित हुने, हाम्रा श्रमिकहरु सामाजिक सुरक्षाको प्रणलीमा बाँधिने स्थितिको सिर्जना हुनेछ । बाल्यकाल, सक्रिय काल र वार्धक्य काल गरी मानिसको आयु बाँडिने छ । बाल्यकालमा सर्वकालिक सामाजिक सुरक्षाबाट हुर्काइएका नागरिकहरु सक्रिय कालमा योग्य श्रमजीवीको रुपमा श्रमको संसारमा प्रवेस गर्नेछन् । ‘उच्च ज्याला र उच्च उत्पादकत्व’को सूत्रमा जोडिएको त्यो श्रमशक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले जोगाउने छ । दुर्घटनाबाट जोगाउने र विरामीहुँदा उपचार गराउने मात्रै हैन, अन्तर्राष्ट्रिय श्रमसंगठनले व्याख्या गरे बमोजिमको वेरोजगार भत्ता सहितको सामाजिक सुरक्षा स्कीमबाट उनीहरुलाई अतिरिक्त लाभ दिइने छ । सक्रिय कालमा राज्यको सहजीकरणमा श्रमिक तथा रोजगारदाताको संयुक्त योगदानमा आधारित वचतबाट वार्धक्य कालका नागरिकलाई राज्यले फेरी सर्वकालिक सामाजिक सुरक्षा प्रणालीबाट सुरक्षा दिनेछ ।
उच्च आर्थिक बृद्धिदर र समतामुलक वितरण प्रणाली भएको समृद्धि, स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र विकास हुनुका साथै सवल राष्ट्रिय क्षमता स्थापित हुनेछ । यसकालागि हाम्रो श्रमसम्बन्ध, ऐक्यवद्धता र अनुशासनमा आधारित हुनेछ । चुम्बकका दुई ध्रुव जस्तै श्रमिक–व्यवस्थापन सम्बन्ध सहअस्तित्वमा आधारित ‘संघर्ष–एकता–संघर्ष’को चरणबाट गुज्रिदै वर्ग–रुपान्तरण हुनेछ ।
कतिलाई फगत कल्पना जस्तो लाग्ने हाम्रा आगामी दिनका यी योजना, यो मे दिवसको हाम्रो प्रतिवद्धता पनि हो । भनिन्छ–पीडापछि त्यत्तिकै खुशी खस्दैन र सपना आफैं साकार हुँदैन । हामीले धरातलीय यथार्थमा टेकेर कडा मिहेनत गर्नुपर्छ । कडा परिश्रम गर्ने सबैभन्दा मर्यादित, श्रेष्ठ, महान र सुन्दर गुण भएको विचारलाई हामीले अपनाउनु पर्छ ।
मे दिवस–२०१६